प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार : ८ मन्त्री र १ राज्यमन्त्री थपिए

काठमाडौं, ११ पुस : प्रधानमन्त्री ओलीले शुक्रबार आफ्नो समूहका नेताहरुलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना अनुहारले जिम्मेवारी पाएका छन् भने युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ ।

जसमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह छन् । यस्तै ​ प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतो पनि मन्त्री भएका छन् । साथै विमला विश्वकर्माले पनि राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । त्यस्तै ओलीले आजै खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई हटाएका छन् ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ शपथ लिएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । र, प्रचण्ड–माधव समूहमा रहेका ७ मन्त्रीले राजीनामा दिएका थिए ।

मन्त्रालय हेरफेर

नयाँ मन्त्रीहरु आएसँगै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएपछि कृष्णगोपाल श्रेष्ठ शिक्षामा पुगेका छन् । यस्तै, गणेश ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिएपछि हृदयेश त्रिपाठी स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयमा पुगेका छन् ।

स्वास्थ्यमा रहेका भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाइएको छ ।

जुलीकुमारी महतोले महिला, बालबालिका लिँदा लीला श्रेष्ठले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । कानूनमा रहेकी डा. शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था र त्यहाँ रहेकी पद्मा अर्याललाई कृषिको जिम्मेवारी दिइएको छ ।

मन्त्री र राज्यमन्त्री हटाइयो

संसद विघटनको विरोधमा ७ मन्त्रीले राजीनामा दिएका थिए । तर ८ मन्त्री र एक राज्यमन्त्री थपेपछि प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाएका छन् ।

उनले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योेग राज्यमन्त्री मोती दुगडलाई हटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.