काठमाडौं उपत्यकामा आज यसवर्षकै चिसो
काठमाडौं, ११ पुस : काठमाडौं उपत्यकामा आज यस वर्षकै अहिलेसम्मकै कम तापक्रम मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस मापन भएको हो । यसअघि पुष ३ मा उपत्यकाको तामक्रम १ दशमलब ६ डिग्री सेल्सियस मापन भएको थियो ।
मौसम सफा भएर आकाश खुलेको कारण चिसो बढेको महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन् । उपत्यकाको आजको अधिकतम तापक्रम २० डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।
अहिले तराईका भू–भागका थोरै स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ र बाँकी स्थानको मौसम सफा रहेको छ । दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । सुदूरपश्चिमका हिमाली तथा उच्च पहाडी एक÷दुई स्थानमा हिमपात हुने सम्भावना छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
