सोमपाल, करण र कुशलले टी टेन लिग खेल्ने
काठमाडौं, ९ पुस : राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले संयुक्त अरब ईमिरेट्स (युएई)मा आयोजना हुने टी–टेन लिग खेल्ने भएका छन् ।
युएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाईज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् ।
बुधबार भएको ड्राफ्ट अनुसार राष्ट्रिय क्रिकेट टिमका फस्ट बलरद्धय सोमपाल कामी र करण केसी तथा अलराउण्डर कुशल मल्ललाई टी–टेनका टिमले अनुबन्धन गरेका हुन् ।
सोमपाललाई मराठा अरबियन्सले, करणलाई पुने डेभिल्स र कुशललाई अबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका हुन् ।
तीनै जना खलाडी पहिलो पटक टी–टेनमा अनुबन्धन भएका हुन् ।
सोमपालले यसअघि समेत विदेशी फ्रेन्चाईज टिममा सहभागी बनिसकेका छन् । करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाईज लिगमा अनुबन्धन भएका हुन् ।
यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागीता जनाईसकेका छन् ।
गोल्ड क्याटागोरीमा रहेका सन्दीपलाई कुनैपनि टिमले लिएनन् । सन्दीप बीबीएलमा ब्यस्त हुने भएकाले उनलाई टिमहरुले अनुबन्धन नगरिएको बुझिएको छ ।

आगामी संस्करणको टी टेन लिग आबुधाबीमा जनवारी २८ देखि फेब्रुवरी ६ सम्म आयोजना हुदैछ ।
टी टेन लिगमा डेकन ग्ल्याडीयटर्स, दिल्ली ब्लुज, मराठा अरबियन्स, नर्दन वारियार्स, टिम आबुधाबी, बंगला टाइगर्स, पुने डेभिल्स र कलान्दर्स सहभागी रहेका छन् ।
प्रतियोगितामा सहभागी ८ टिमलाई दूई समुहमा विभाजन गरिएको छ ।
समुह एमा मराठा अरबियन्स, बंगला टाइगर्स, पुने डेभिल्स र नर्दन वारियार्स रहेका छन् । यस्तै समुह बीमा डेकन ग्ल्याडीयटर्स, टिम आबुधाबी, कलान्दर्स र दिल्ली ब्लुज रहेका छन् ।
टी–१० लिगमा सन्दिप लामिछाने र पारस खड्काले अघिल्ला वर्षहरुमा खेलिसकेका छन् । पछिल्लो सिजन आबुधावीबाट खेलेका पारस यस सिजनका लागि त्यही टिमको इमर्जिङ प्लेयर मेन्टरको भूमिकामा रहनेछन् ।
