मेसीले तोडे पेलेको कीर्तिमान, बार्सिलोनाका लागि ६४४ गोल

काठमाडौं, ८ पुस : बार्सिलोनाका लागि ६ सय ४४ गोल गर्दै लियोनल मेसीले ब्राजिलियन महान् खेलाडी पेलेको कीर्तिमान तोडेका छन् ।

मेसीले भाल्लाडोलिडविरुद्ध ६५ मिनेटमा गोल गर्दै यो कीर्तिमान तोडेका हुन् । खेल बार्सिलोनाले ३–० ले जित्यो ।  स्पेनिस ला लिगा फुटबलमा मंगलबार बार्सिलोनाले रियल भालाडोलिड ३–० ले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे ।

मेस्सीकै पासमा क्लेमेन्ट लिन्गलेटले हेडमार्फत पाहुना टोली बार्सिलोनालाई अघि बढाएका थिए । ३५ औं मिनेटमा मार्टिन बे्रथवेट बार्सिलोनाको अग्रता दोब्बर बनाउने काम गरे । ईन्जुरी समयमा मेस्सीको प्रहार पोस्टमा लागेको थियो ।

यसअघि गत शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा गोल गर्दै मेसीले पेलेको कीर्तिमान बराबरी गरेका थिए । पेलेले सन्तोष क्लबबाट खेल्दा ६४३ गोल गरेका थिए , जो कुनै एक क्लबका लागि एक खेलाडीले गरेको सर्वाधिक गोलको किर्तिमान थियो । ‘फुटबल खेल्न सुरु गर्दा कुनै किर्तिमान भंग गर्छु भनेर मैले कहिल्यै सोचेको थिइनँ । विशेषगरी आज मैले हासिल गरेको किर्तिमानजस्तो, जो पेलेको नाममा थियो,’ मेसीले इन्टाग्राममा लेखेका छन् ।

उनले आफ्ना साथीभाइ, सहकर्मी र सहयोग गर्ने हरेकप्रति धन्यवाद् प्रकट गरेका छन् । १३ वर्षकै उमेरमा बार्सिलोनाको युवा टोलीमा आबद्ध भएका मेसीले १७ वर्षको उमेरमा सन् २००४ मा सिनियर टोलीबाट डेब्युु गरेका थिए । उनले यस अवधिमा बार्सिलोनालाई चारपटक च्याम्पियन्स लिगसहित ला–लिगा, कोपा डेल रे, फिफा क्लब विश्वकपलगायत उपाधिहरु जिताइसकेका छन् । यस अवधिमा मेसीले सर्वाधिक ६ पटक बेलोन डि अर उपाधि समेत जितिसकेकका छन् ।

पेलेले दिएका थिए बधाई 

शनिबार आफ्नो किर्तिमान बराबरी गरेपछि मेसीलाई पेलेले बधाई दिएका थिए ।

‘तिमीलाई जस्तै मलाई पनि थाहा छ हरेक दिन एउटै जर्सी लगाउनुुको माया । तिमीलाई जस्तै मलाई पनि थाहा छ आफूलाई घरजस्तो लाग्ने ठाउँभन्दा राम्रो अरु कुनै ठाउँ छैन । एउटै क्लबलाई माया गर्ने हाम्रोजस्तो कथा दुुखद् रुपमा फुटबलमा दुुर्लभ बन्दै जानेछ,’ उनले लेखेका थिए । पेले अहिले ८० वर्षको भइसके । उनले १९५६ देखि १५ वर्षको उमेरमै उनले सान्तोषबाट डेब्युु गरेका थिए । उनले १९७४ सम्म सन्तोष क्लबबाट ६ सय ६५ खेल खेल्दै ६ सय ४३ गोल गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.