सिस्नेखोला-दहचोक (नागढुंगा) सुरुङमार्ग खन्ने काम सुरु
काठमाडौं, ७ पुस : नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम औपचारिकरुपमा सुरु भएको छ ।
आजबाट औपचारिकरुपमा सुरुङ खन्ने काम सुरु भएको हो । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । जापानको ऋण सहयोगमा यो सुरुङ खन्न लागिएको हो । धादिङ र काठमाडौंको सिमाना सिस्ने खोलामा सुरुङ खन्ने कामको शुभारम्भ गरिएको हो ।
शिलान्यास भएको १४ महिनापछि सुरुङमार्गमा खन्ने काम सुरु भएको हो । २०७६ कात्तिक ४ सुरुङमार्गको दहचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
२.६६८ किलोमिटर लामो यो सुरुङमार्ग ४२ महिनामा निर्माण गरिसक्ने योजना छ । तर, ४२ मध्ये १४ महिना बितिसक्दा पनि सुरुङ खन्न सुरु भएको छैन ।
सुरुङ खन्ने काम वैशाख २०७७ बाट सुरु गर्ने योजना थियो । समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जाको विवाद नसल्टिएको लगायतका कारण देखाउँदै काममा ढिलाइ भयो ।
सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिँदैछ । सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।
