प्रधानमन्त्री ओली र प्रचण्डबीचको भेटवार्ता सकियो
काठमाडौं, ४ पुस : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।
उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा एक घण्टा भेटवार्ता भएको छ । ओली १२ बजेपछि खुमलटारबाट बाहिरिएका छन् ।
प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा ओली र प्रचण्डबीच पार्टीभित्रको विवादका विषयमा छलफल भएको बताइएको छ । पाटीको संकट गहिरिँदै गएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका थिए ।
ओली खुमलटार पुगेपछि नेकपा बरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास पुगेका छन् ।
पार्टीभित्रको संकट गहिरिँदै गएपछि नेकपा नेताहरुले छलफल तिव्र पारेका छन् ।
ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका हुन् भने गौतम पुगेको आधा घण्टापछि बरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका थिए ।
ओली बिहान ११ बजे अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । त्यसलगत्तै गौतम र नेपाल पनि खुमलटार पुगेका हुन् ।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेताहरुको भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
