भारत टेस्टमा अहिलेसम्मकै न्यून ३६ रनमा अलआउट
काठमाडौं, ४ पुस : अस्ट्रेलिया र भारतबीचको पहिलो दिवा–रात्री टेस्टको तेस्रो दिन भारतीय क्रिकेट टोली मात्र ९० मिनेटमा अलआउट भएको छ । आफ्नो दोस्रो पारीमा भारतीय टीमले ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । अन्तिममा मोहम्मद शमी घाइते बनेर रिटायर हर्ट बने ।
टेस्ट इतिहासमा भारतीय टीमले बनाएको यो सबैभन्दा कम स्कोर हो । यसअघि भारतीय टोलीले ४६ वर्षअघि सबैभन्दा कम ४२ रन बनाएको थियो । सन् १९७४ मा भारतले इंग्ल्याण्डविरुद्ध सो स्कोर बनाएको थियो ।
तेस्रो दिन एक विकेटको क्षतिमा ९ रनको स्थितिबाट आफ्नो पारी सुरु गरेको भारतले १० रन जोडेर थप ५ विकेट गुमाएका थियो । भारतीय पारी ध्वस्त बनाउन जोश हेजलवुडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए । कुनै पनि भारतीय ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतीय टोलीले अस्ट्रेलियासामु जीतका लागि मात्र ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा २४४ रन बनाएको थियो भने अस्ट्रेलिया १९१ रनमा समेटिएको थियो ।
भारतका पाँच कमजोर इनिङ
लर्डसलमा १९७४ मा १७ ओभरमा ४२ रनमा समेटिएको थियो । त्यस्तै अस्ट्रेलियासँग ब्रिसबेनमा १९७४ मा ५८ रनमा समेटंदा इंगल्यान्डसँग म्यान्चेस्टरमा १९५२ मा ५८ तथा दक्षिण अफ्रिकासँग डरबिनमा १९९६ मा ६६ तथा अस्ट्रेलियासँगनै १९४८ मा ६७ रनमा भारत समेटिएको थियो ।
