प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री ओली

काठमाडौं, ४ पुस : प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खुमलटारमा भेटवार्ता भएको छ ।

शनिबार बिहान करिब ११ बजे प्रचण्डलाई भेटन प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले खुमलटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल चलिरहेको छ ।

यसअघि ओलीलाई भेट्न प्रचण्ड नै प्रधानमन्त्री निवास बालुवाटार लगातार जाने गरेका थिए। शुक्रबारको भेटमा प्रचण्डले आफू मात्रै बालुवाटार धाइरहेको भन्दै ओलीलाई खुमलटार आउन भनेका थिए ।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच शुक्रबार पेरिस डाँडामा भएको भेलापछि थप आक्रामक हुने बताइरहेको अवस्थामा ओली- प्रचण्डको भेट वार्ता भएको हो ।

पार्टीमा आन्तरिक विवाद चलिरहँदा ओली आफैं प्रचण्ड निवासमा गएर भेटवार्ता सुरु हुनुले विवाद मत्थर हुने विश्वास लिइएको छ ।

यसअघि बिहीबार र शुक्रबार प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो । ती भेटवार्ता सकारात्मक बन्न सकेका थिएनन् ।

गत मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेका बेला ओली खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.