काठमाडौं उपत्यकामा भोलिदेखि जोरबिजोर प्रणाली हट्ने

काठमाडौं, २ पुस : उपत्यकामा गुड्ने सबैखाले सवारीमा लागू भएको जोरबिजोरको नियम हट्ने भएको छ ।
बिहीबार उपत्यकाका तीनै जिल्लाका सिडिओसहित सुरक्षा समितिको बैठकले यातायात व्यवसायीको छलफलपछि यो निर्णय गरिएको हो । उपत्यकामा चल्ने सवारीसाधनमा असोज १ देखि जोरबिजोरको नियम लगाइएको थियो ।
त्यस नियम भोलि अर्थात् शुक्रबार (पुस ३) बाट हटाइने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । पुस ३ गतेदेखि यातायात व्यवसायी तथा मजदुरले सबैखाले सवारीसाधन चलाउने भनी संयुक्त विज्ञप्ति नै जारी गरेका थिए ।
जोरबिजोर प्रणालीको अन्त्य गर्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायी तथा मजदूरहरुले शुक्रबारदेखि जोरबिजोर प्रणालीको अवज्ञा गर्ने घोषणा गरेसँगै प्रशासन आफ्नो पूर्वनिर्णयबाट पछि हटेको हो ।
नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले प्रशासन, व्यवसायी र मजदूरबीच सहमति भएको भन्दै अब यातायात निर्वाध ढंगले सञ्चालन गर्ने अवस्था बनेको बताए ।
‘प्रशासन र हामीबीच सहमति भएको छ । सहमति नभएको भए पनि हामी अवज्ञा गर्ने पक्षमा थियौं । जोरबिजोर प्रणालीले कोरोना महामारी अन्त्य गर्दैन बरु बढाउँछ भनेर हामीले भन्दै आएका हौं, प्रशासनले हाम्रो माग पूरा गरेको छ,’ उनले भने ।
सार्वजनिक यातायात मात्रै नभएर शुक्रबारदेखि सबै प्रकारका यातायातमा लाग्दै आएको जोरबिजोर प्रणाली पनि हट्ने भएको छ । यसबारे प्रशासनले पनि यसअघि जारी आदेशलाई फिर्ता लिनेगरी अर्को आदेश जारी गरिसकेको छ ।
बिहीबारको सहमति अनुसार यातायात व्यवस्था विभागले यसअघि जारी स्वास्थ्य मापदण्ड व्यवसायी र मजदुरले पालना गर्नुपर्नेछ । यो मापदण्ड पूरा गर्न आफूहरु तयार रहेको अध्यक्ष भण्डारीले बताए ।

