सोेसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष पाँचमा उक्लियो
काठमाडौं, बार्सिलोनाले स्पेनिस लिगको शीर्ष क्लब रियल सोसिडाडलाई पराजित गरेको छ ।
बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई पराजित गरेको छ ।
बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएको थियो ।
त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
पहिलो हाप सकिन तीन मिनेट अघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाएका थिए ।
दोस्रो हाफमा थप गोल हुन नसकेपछि खेल बार्सिलोनाले जितेको हो ।

पछिल्ला ५ दिनमा बार्सिलाेनाले घरेलु मैदानमा लगातार दाेस्राे जित निकालेकाे हाे ।
पछिल्लो समय खराब नजिताले दबाब खेपिरहेको बार्सिलोनालाई सोसिडाडविरुद्धको जितले ठुलो राहत दिएको छ ।
बार्सिलोनाविरुद्धको खेलको अन्तिम समयमा जोसे र अलेक्जेन्डर जेकको प्रहारलाई बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगरले असफल बनाईदिएका थिए ।
बार्सिलोनाले सोसिडाड सहितका शीर्ष क्लबहरु एट्लेटिको मड्रिड, रियल मड्रिडसंग समेत अंक दुरी घटाएको छ । शीर्ष तीन क्लबको समान २६ अंक छ ।
जितसँगै बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ । बार्सिलोना अंक तालिकाकोे पाँचौ स्थानमा छ । परातिज सोसिडाड तालिकामा एक स्थान तल झरेको छ । लिगमा १४ खेल खेलेको सोसिडाडको २६ अंक छ ।
