२६औं महानगर दिवस मनाउँदै काठमाडौं महानगरपालिका

काठमाडौं, २९ मंसिर : काठमाडौं महानगरपालिकाले आज २६ औं महानगर दिवस मनाउँदैछ। विभिन्न कार्यक्रम गरी राष्ट्रिय सभागृहमा मनाउन लागेको हो। यस वर्ष कोरोना कहर भएकोले व्यापक रुपमा मनाउन नसकिने गरी तयारी गरेको हो।

वि.सं. १९७६ पुस ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष महानगरपालिकाले स्थापना दिवस मनाउँदै आएको छ।

महानगर दिवस स्थापना अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ।

‘महानगरपालिकाले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने, अक्सिजन प्लाण्ट राख्ने, कोभिड–१९ को महामारीका बेला स्वास्थ्य सामग्रीसँगै पीसीआर मेसिन हस्तान्तरण गर्नेलगायतका काम गर्दै आएको छ,’ महानगरपालिका प्रमुख शाक्यले भने, ‘समयमै सावधानी अपनाउन सके लाखौँ रुपैयाँ खर्च गर्नु पर्ने र लामो समयसम्म पीडा खप्न बाध्य मृगौलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागेको हो।’

महानगर दिवसलाई व्यवस्थित बनाउन महानगरका प्रमुख शाक्यको अध्यक्षतामा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु सदस्य रहेको २६ औं महानगर दिवस मुल समारोह समिति गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.