सरकारविरुद्व देशव्यापी प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं, २९ मंसिर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी सडक प्रदर्शनको तयारी गरेको छ ।

सत्तारुढ दल नेकवाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुध्द कांग्रेस सडक आन्दोलनमा उत्रिन लागेको हो । आन्दोलनको सम्पूर्ण तयारी पूरा भएको  केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आन्दोलनलाई सफल बनाउन शीर्ष नेताहरू नै विभिन्‍न जिल्लामा खटिएका छन् । मुख्य सचिव पौडेलका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालयबाट सबै स्थानमा भएका कार्यक्रमबारे ‘मोनिटरिङ’ गर्नेछन् ।

सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई र नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ । त्यस्तै उपसभापति विमलेन्द्र नीधिले भक्तपुर, महामन्त्री डा शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डाक्टर रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बाँकी केन्द्रीय सदस्यहरू ७७ जिल्लामा कार्यक्रमका लागि पुगेका छन् ।

२०७४ को निर्वाचनमा सहज बहुमत ल्याएर ओलीले सत्ता सम्हालेपछि कांग्रेसले सरकारविरुध्द गरेको यो पहिलो पटक आक्रामक आन्दोलन हो । ओली सरकारविरुध्द पछिल्ला दिनमा आलोचना बढिरहदा कांग्रेसपनि आफ्नो सम्पूर्ण शक्ति लगाएर सडकमा उत्रिएको हो ।

सरकार भ्रष्टाचारमा डुबेको, सर्वसत्तावादतर्फ अगाडि बढेकाले ठिक ठाउँमा ल्याउन सडक आन्दोलन गर्नुपर्ने बाध्यता भएको कांग्रेस नेताहरू बताउँछन् । ओली सरकार भ्रष्टाचारमा डुबेको ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको एसियन भ्रष्टाचार ब्यारोमिटरको प्रतिवेदनले देखाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्रीको नाम नै तोकेर भ्रष्टाचारीको संरक्षण गरेको उल्लेख छ । तर, सरकारले प्रतिवेदनलाई सरकारले भने खारेज गरिदिएको छ ।

कांग्रेसले वाइडबडी जहाज खरिद, स्वास्थ्य सामाग्री खरिद, यती समूहलाई नेपाल ट्रष्टको जग्गा दिने र तत्कालिन सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस बार्गेनिङमा ओली सरकार दोषीमाथि कारबाही गर्नुको साटो संरक्षणमा लागेको आरोप कांग्रेसको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.