पर्वतको कुश्मामा साहसिक खेल जिपलाइन निर्माण शुरु

पर्वत, २७ मंसिर : अग्ला र लामा पुल तथा साहसिक खेलको विकास भइरहेको पर्वतमा जिपलाइन बन्ने भएको छ । बन्जीजम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो । हार्नेस जिपलाइन प्रालि पर्वतले रु ११ करोडको लागतमा जिपलाइन निर्माण शुरु गरेको हो ।

जिपलाइनको शुक्रबार पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले शिलान्यास गरेका छन् । धौलागिरिको प्रवेशद्वारको रुपमा रहेको पर्वत सदरमुकाम कुश्माबजारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जिपलाइनसहित कालीगण्डकी नदिरको किनारमा सुविधासम्पन्न रिसोर्ट निर्माण गर्न थालिएको सञ्चालक सागर जोशीले जानकारी दिए ।

यो जिपलाइन सुपर म्यान शैलीमा निर्माण गर्न लागिएको भारतीय निर्माण कम्पनी श्याम जिपलाइनका इञ्जिनीयर नवीन मेस्सीले बताए । “क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यानजस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।” उनले भने, “यहाँबाट नजिकको जिपलाइन पोखरामा रहेको छ । त्यहाँको जिपलाइन क्लासिक हो जसको लम्बाई एक हजार ८०० मिटर छ ।” सुपर म्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जिपलाइन दुबईमा रहेको छ । जसको निर्माण अमेरिकी कम्पनीले गरेको थियो ।

 

पूर्वाञ्चलको लोकप्रिय पर्यटकस्थल भेडेटारमा सञ्चालनमा आएको जिप फ्लायर । ६५० मिटर लामो जिप फ्लयार भेडेटारबाट सुरु भई धरान नगरपालिकाको देवीस्थानमा समापन हुन्छ । तस्वीर: विराट अनुपम

इञ्जिनीयर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जनासँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा शुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने उनको भनाइ छ । कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा शुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ ।

जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ । खेलका क्रममा खेलाडी जोखिममा परेर उद्धार गर्नुपर्ने भएमा एक मिनेटभित्रमा उद्धार गरिने इञ्जिनीयर मेस्सीले बताए । जिपलाइनका एक जना लगानीकर्ता समेत रहेका कुस्मा नगरपालिकाका प्रमुख जोशीले कुस्मामा बन्ने जिपलाइनले कालीगण्डकी नदीलाई दुई ठाउँमा नाघेर जाने भएकाले अन्यत्र ठाउँमा रहेका जिपलाइनभन्दा यहाँ आकर्षण बढी हुने बताए।

“पर्वत जिल्ला अब साहसिक खेलको जिल्लाका रूपमा चिनिन थालेको छ । बञ्जीजम्प, स्काइसाइक्लिङ, रक क्लाइम्बिङ रहेको यो ठाउँमा अब विश्वकै दोस्रो लामो सुपर म्यान जिपलाइन बन्ने भयो”, उनले भने, “यसले पर्वत जिल्लासहित बागलुङ र म्याग्दी जिल्लामा पनि पर्यटक तान्न सहयोग गर्छ । मुस्ताङको साहसिक यात्रा गरेर आउनेलाई जिपलाइनले कुस्मामा आकर्षण गर्छ ।”

जिपलाइन, रिसोर्ट र अन्य साहसिक खेल निर्माणको लागि प्रारम्भिकरूपमा रु ११ करोड खर्च लाग्ने अनुमान गरिएको छ । जसमा नगरप्रमुख जोशीसहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.