विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय

काठमाडौं, २५ मंसिर : नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई सरकारले एआइजीमा बढुवा गरेको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवा गर्दै कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी भने अपराध अनुसन्धान विभागका एआईजी हरिबहादुर पालले पाएका छन् ।
संसदको राज्य व्यवस्था समितिले बुधबार मात्रै कुनै एक व्यक्ति विशेषका लागि दरबन्दी थप्न नहुने भन्दै पोखरेलको बढुवा सिफारिस रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो । तर संसदीय समितिको निर्देशनको भोलिपल्टै सरकारले पोखरेललाई भावी आइजीपीका रुपमा एआइजीमा बढुवा गरिदिएको हो ।
बुधबारको संसदीय समितिको निर्देशनले भावी आइजीपी बन्न तम्तयार पोखरेललाई अफ्ठ्यारो पर्ने अवस्था देखिएको थियो । तर सरकारले उनलाई एआईजीमा बढुवा गर्न भएको सिफारिसलाई बिहीबार कार्यान्वयन गरेपछि संसदीय समितिको निर्देशन पनि बेकामे भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको विशेष चासोमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन जनाएपछि पोखरेल एक्लै एआईजीमा बढुवा भएका हुन् । गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा १ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । विश्वराज उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाइ नाता पर्छन् ।
पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा भावी महानिरीक्षकको एकल दाबेदार बनाउने गरी बढुवा गरिएका हुन् । उनकै लागि भनेर सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई समेत थाहै नदिइ एउटा एआईजीको दरबन्दी थपेको थियो ।
संसदीय समितिले एउटा एआईजी पद थप भएको विषयमा गृहमन्त्रीलाई जानकारी नभएको भन्दै रोष प्रकट गरेको थियो । यसबारेमा आफूलाई थाहा नभएको बताएपछि संसदीय समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै बोलाएर दरबन्दी थप्ने निर्णय रोक्न निर्देशन दिएको थियो ।
यद्यपि गृहमन्त्री थापाले एआईजी थपको काम प्रक्रिया अनुसार नै भएको दाबी गरेका थिए । गृहमन्त्रीले दरबन्दी थप र बढुवा सिफारिस प्रक्रिया सम्मत भनेको भोलिपल्टै पोखरेल एक्लै एआईजी भएका हुन् ।
सरकारको सो निर्णयसँगै वैकल्पिक सूचीका पोखरेल भावी प्रहरी महानिरीक्षक हुने भएका छन् । उनी ०४९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नायव उपरिक्षक हुँदा उनको व्याच (१०१ टोली)मा विश्वराज १८ औं बरियतामा थिए । प्रहरी उपरीक्षक बढुवा हुँदा पाँचौ बरियतामा रहेका पोखरेलले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हुँदा फड्को हानेर एक नम्बरमा बढुवा भए ।
तत्कालीन डीआईजी शुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि पोखरेलले अर्को फड्को हाने । आफूभन्दा सिनियर एसएसपीलाई उछिन्दै उनि एकल नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका थिए ।
