उपत्यकामा ४०४ सहित थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु

काठमाडौं, २५ मंसिर : पछिल्लो २४ घण्टामा १ हजार २१७ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण दर नै कम भएका कारण अन्य जिल्लामा जस्तै काठमाडौंमा पनि संक्रमित कम पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा महिला १६० र पुरुष २४४ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै काठमाडौंमा सक्रिय संक्रमित ४ हजार ७४५ जनामा सीमित भएको छ भने भक्तपुरम ४१२ र ललितपुरमा ९५० जना सक्रिय संक्रमित रहेका छन् । हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा काठमाडौं, ललितपुर र कास्कीमात्रै रहेका छन् । यस्तै डोल्पा र मनाङमा शून्य संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । अर्थात संक्रमितमध्ये ९४.२ प्रतिशत निको भएका छन् । अब सक्रिय संक्रमित दर ५.०४ प्रतिशत रहेको छ । यस्तै संक्रमितमध्ये १६६३ अर्थात ०.६८ प्रतिशतको मृत्यु भएको छ ।
हाल देशभर १२ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार १२ हजार ३८६ जना आइसोलेसनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २३२ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १८ लाख १३ हजार २०४ जनाको पीसीआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ ।
