विप्लव कार्यकताद्वारा प्रधानाध्यापककाे घाँटी रेटेर हत्या

काठमाडौं, २३ मंसिर : नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले मिक्लाजुङ, मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको पाइएको छ ।

मिक्लाजुङ गाउँपालिका-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई सोमबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । श्रेष्ठलाई अपरिचित समूहले लिएर गएको र गोली पड्किएको जस्तो आवाज सुनेपछि स्थानीयबासीले खोजी गरेका थिए ।

त्यसक्रममा श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो । गोली चलेको आवाज पनि सुनेकाले गोली हानेर हत्या गरेको स्थानीयले अनुमान गरे । र, प्रहरीले पनि त्यही सूचना दिएको थियो ।

तर मधुमल्लाबाट प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा गएको टोली अपराधस्थलमा पुगेर मृतकको श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको छ ।

शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले अनलाइनखबरलाई जानकारी दिए । उनको हत्यापछि विप्लव समूहका कार्यकर्ता हवाई फायर गर्दै हिँडेको हुनसक्ने अनुमान छ ।

सुराकी गरेकाले प्रतिकारमा मारिएको जिकिर

मोरङको मिक्लाजुङ गाउँपालिका-१ निवासी स्थानीय सरस्वती आधारभूत विद्यालका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

विप्लव नेतृत्वको नेकपाका मेची-कोसी व्यूरो इन्चार्ज प्रतापले मंगलबार एक विज्ञप्ति निकालेर आफूहरुविरुद्ध सुराकी गर्दै आएकाले हत्या गर्नु परेको जनाएका छन् ।

‘पटक पटक चेतावनी दिँदा पनि हामीविरुद्ध सुराकी गरेर नेता कार्यकर्तालाई गिरफ्तार गराइरहेका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘पटक पटक सच्चिन आग्रह गर्दा नसुध्री उल्टै हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको हो ।’

प्रधानाध्यापक श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची-कोसी बैठकका क्रममा प्रहरी बोलाएर दमन गराउन भूमिका खेलेको आरोप विप्लव समूहले लगाएको छ । इन्चार्ज प्रतापले आफूहरुद्वारा गठित सेनाविरुद्ध पनि सशस्त्र प्रहरी लगाएर सर्च अपरेसन चलाएको आरोप प्रधानाध्यापक श्रेष्ठमाथि लगाएका छन् ।

आफूहरुविरुद्ध सुराकी गरेको थाहा पाएपछि गत साउनदेखि नै सुध्रिन पटक पटक आग्रह गर्दा पनि उनले नटेरेको पनि विप्लव समूहले जिकिर गरेको छ ।

‘हामीले पटक पटक सम्झाउँदा पनि उनले उग्र गतिविधि गरिरहेका थिए । यस पटक पनि सम्झाउने क्रममा हतियारसहित आक्रमण गरेकाले प्रतिकारका क्रममा ज्यान गएको हो’, प्रतापले अन्तिममा भनेका छन् ।

यसअघि ५४ वर्षीय श्रेष्ठको विप्लवका कार्यकर्ताले गोली हानी हत्या गरेको जानकारी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले दिएका थिए । श्रेष्ठको शव घरबाट करिब २ किलोमिटर पर बर्खेको जंगलमा भेटिएको थियो ।

मंगलबार बिहान सवा ६ बजेतिर ४-५ जनाको संख्यामा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले श्रेष्ठलाई घरबाट अपहरण गरेर लगेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.