नेपालको परराष्ट्र नीति २०७७ सार्वजनिक, स्वतन्त्र र असंलग्न नीतिमा दृढ

काठमाडौं, २१ मंसिर : सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ ।

आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही शत्रुता नभई सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताए । ‘यो सरकार आइसकेपछि मन्त्रजस्तै बनायौं । सबैसँग मित्रता कसैसँग छैन शत्रुता भन्ने कुरालाई हामीले मन्त्र जस्तै बनायौं,’ उनले भने ।

संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दाभिन्दै प्रणाली रहे पनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निश्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको स्पष्ट पारे ।

कुनै पनि देशसँग नजिकको वा टाढाको भनेर कूटनीतिक व्यवहारमा फरक पार्न नखोजिएको पनि मन्त्री ज्ञवालीले बताए । परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थानलगायत विषयमा समेत जोड दिएको उनले बताए ।

स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्बर्धन  र प्रवर्धन गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको छ ।

छिमेकीलगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने पनि परराष्ट्र नीतिमा उल्लेख छ ।

यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्धन गर्ने विषयलाई समेत समावेश गरिएको छ । विदेशमा पेसा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानुनी व्यक्तिको हितको संरक्षण गर्ने विषय पनि परराष्ट्र नीतिमा समावेश गरिएको मन्त्री ज्ञवालीले बताए । उनले नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने समेत प्रस्ट पारे ।

हेर्नुहोस् परराष्ट्र नीति:

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.