विश्वराज पोखरेल एआइजी बढुवाका लागि सिफारिस

काठमाडौं, १५ मंसिर : प्रहरी नायव महानिरीक्षक डिआइजी विश्वराज पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरिएको छ ।

नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ । विश्वराज उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाइ नाता पर्छन् ।

सोमबार साँझ गृह महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आइजिपी सदस्यसचिव रहने व्यवस्था छ ।

पोखरेलको बढुवासँगै उनी हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि आईजीपीको दौडमा एकल दाबेदार बनेका छन् । क्षेत्रीको कार्यकाल ०७९ वैशाख १९ सम्म छ । त्यसपछि पोखरेल १२ महिनाका लागि आईजीपी बन्नेछन् । पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

आफ्नो ब्याचका डिआइजीहरु सहकुल थापा, धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तम सुवेदीलगायतलाई पछि पार्दै बढुवा सिफारिस भएका पोखरेललाई प्रहरी संगठनमा भावी आइजिपीका रुपमा हेरिन्छ ।

डीआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा निधन भएपछि उनलाई १९ वैशाख २०७६ मा एसएसपीबाट डीआईजीमा बढुवा गरिएको थियो ।

पोखरेल प्रहरी निरीक्षक, डीएसपी र एसपी हुँदा वरियतामा अगाडि थिएनन् तर, एसपीबाट एसएसपीमा बढुवा हुने क्रममा पाँचौं वरीयताबाट सिधै एक नम्बरमा पारिएको थियो ।

यसअघि काठमाडौं प्रहरी परिसरमा रहेका बेला दिल्लीस्थित नेपाली दूताबासमा सुरुवा हुँदा पोखरेलले जान नमानेर कमाण्डको अनुशासन उल्लंघन गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.