बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौं, ४ मंसिर : बंगलादेशसंग दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार स्वदेश फर्केको छ ।

नेपालले मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत बंगलादेशसंग ढाकामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

एन्फा उपाध्यक्ष शिक्षित पराजुलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोली र अफिसियलहरुलाई स्वागत गरे ।

नेपालले बंगलादेशमा खेलेका दुई खेलमध्ये पहिलोमा हार ब्यहोर्‍यो भने अर्को खेललाई बराबरीमा रोकेको थियो । दुई खेलेको श्रृङ्खला बंगलादेशले १-० ले आफ्नो पक्षमा पार्दै ट्रफी भने घरमै राख्‍यो । पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

कोरोनाभाइरस महामारीले गर्दा गत चैतदेखि फुटबल खेल्न नपाएको नेपालले सात महिनापछि मैत्रीपूर्ण खेल खेलेको हो ।

बंगलादेशमा भएको मैत्रीपूर्ण खेलमार्फत ६ युवा खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्ने अवसर पाए । पहिलो खेलमा डिफेण्डर विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले डेब्यु गरे भने दोस्रो खेलमा छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्दम्बेले डेब्यु गरे ।

बंगलादेश जानुअघि प्रशिक्षणका क्रममा ७ खेलाडीलाई कोरोना संक्रमण भएपछि यस पटक राष्ट्रिय टिममा ८ नयाँ खेलाडीले अवसर पाएका थिए । पहिलो पटक टिममा स्थान बनाएकामध्ये गोलकिपर दीप कार्की र डिफेण्डर दिलेन लोक्तानले भने मैदान प्रवेश गर्ने अवसर पाएनन् ।

बंगलादेबाट फर्केका राष्ट्रिय टिमका खेलाडीहरु अब सातदोबाटोस्थित एन्फा कम्प्लेक्स होस्टलमा बस्ने एन्फाले जनाएको छ । बुधबार कोरोना संक्रमण पुष्टि भएका टिम म्यानेजर मधुसुदन उपाध्याय भने हाल बंगलादेशमै छन् र कोरोना नेगेटिभ आएपछि मात्र नेपाल फर्कनेछन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.