रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज र भाेलि खुला
काठमाडौं, भाइटीकाको दिन आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ ।
कोरोना महामारीबीच पनि दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। भाइटीकाको दिन आज सोमबार र भोलि मंगलबार सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिएको हो । ०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिर पुर्ननिर्माण गरिएसँगै पहिलोपटक सर्वसाधारणका लागि मन्दिर खुला गरिएको हो ।
भूकम्पले क्षतिग्रस्त बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि हालै मात्र पुनर्निमाण सम्पन्न भएको हो । काठमाडौं महानगरपालिका र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहकार्यमा भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन सो मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
भाइटीकाकै लागि काठमाडौं महानगरले मन्दिर र पोखरीलाई बेहुलीझैँ सिंगारेर झिलीमिली पारेको छ । सुरक्षा व्यवस्था पनि कडा पारिएको महानगरले जनाएको छ । ०३५ सालपछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।
यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा गोविन्द टण्डनले जानकारी दिए ।
“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उनले भने ।
विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।
यस वर्ष मंसिर २ गते बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदै छ । मंगलबार पनि किजापूजाका लागि सरकारले सार्वजनिक बिदा दिएको छ ।
