गौतमपछि ओलीले माधव नेपालसँग गरे छलफल

काठमाडौं, ३० कात्तिक : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन् ।

पार्टीभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई बालुवाटारमा भेट गरेका हुन् । भेटवार्ताका क्रममा महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो।

वरिष्ठ नेता नेपालसँग ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनेबारे छलफल गरेको बताइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा एकल दस्तावेज ल्याएको भन्दै ओलीले फिर्ता गराउन पूर्वएमालेका नेताहरूलाई फकाउने कोसिस गरिरहेका छन् ।

स्राेतका अनुसार प्रधानमन्त्री ओलीले विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेपनि वरिष्ठ नेता नेपालले पार्टी कमिटीबाटै छलफल गरेर निश्कर्ष निकाल्नुपर्ने जवाफ दिएका थिए ।

वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग भएको दुईघण्टा लामो कुराकानीमा प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग सँगै हिँड्न नसकिने बताउँदै आफूलाई सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए ।

“मिलेर जानुपर्‍यो । दस्तावेज फिर्ता लिएर बैठक चल्ने वातावरण बनाउनुपर्‍यो भनेर आग्रह गरेको बुझिएको छ,” “नेता नेपालले ओलीलाई सच्चिन आग्रह गर्नुभएको छ ।” आइतबारै ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि बोलाएर दस्तावेज फिर्ताको निम्ति आग्रह गरेका थिए । उनले पनि ओलीको आग्रह अस्वीकार गर्दै सच्चिन नै भनेका थिए ।

ओलीले नेता नेपालसँग कात्तिक महिनामा मात्रै चारपटक भेटवार्ता गरिसकेका छन् ।

गत शुक्रबार प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेब गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत समर्थन रहेको छ ।

प्रतिवेदनमा प्रधानमन्त्रीले सरकार र पार्टीलाई सही दिशा दिन नसकेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.