ललितपुरको कर्मनासा खोलाको जग्गा व्यक्तिको नाममा

काठमाडौं, ३० कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।

खोलाको प्राकृतिक धार परिवर्तन गरी तत्कालीन नापी कार्यालय, मालपोत कार्यालय र तत्कालीन ललितपुर उपमहानगरपालिकाका केही कर्मचारीको मिलेमतोमा कर्मनासा खोलाको करिब सात रोपनी जग्गा हडपेर कम्पनीको नाममा दर्ता गरेपछि आयोगमा उजुरी परेको थियो ।

त्यसपछि आयोगले अनुसन्धान सुरु गरेको हो । सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने असल भावना भएका केही व्यक्तिको उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले ललितपुर जिल्लाको साबिक हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा घुसाइ दर्ता गरेको भन्ने विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले जग्गाधनीलाई आयोगमा हाजिर हुन सूचित गरिएको जानकारी दिए ।

यो समाचार गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.