अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २-० गोलले पराजित

काठमाडौं, २८ कात्तिक : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

बंगलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो ।

बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एक एक गोल गरे ।

पहिलो हाफको १० औं मिनेटमा मोहमद नाबिबले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले साद उदीनको क्रसमा वान टचमा गोल गरेका थिए ।

त्यसपछि खेलको ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २-० को जित दिलाए ।

बल पोजिसनमा पकड बनाएपनि नेपाल भने घरेलु टिमविरुद्ध गोल गर्न चुकेको थियो ।

तर, बंगलादेशविरुद्ध तीन खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

राष्ट्रिय टिममा विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु गर्ने मौका पाए ।

यस जितसँगै बंगलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला लिएको छ ।

२०७५ सालको भदौंमा ढाकामै भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ ।

 

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.