मंसिरमा भाइटीका लगाउनु हुँदैन भन्ने हल्लाका पछि नलाग्‍न आग्रह

काठमाडौं, २८ कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मंसिर १५ गतेसम्म चान्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरे ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले चान्द्रमासअनुसार नै चाडपर्व मनाउने गर्छन् । मंसिर १५ गतेसम्म कार्तिक शुक्ल पक्ष भएकैले विवाहको लगन १६ गतेपछि मात्र दिइएको पनि उनले  जानकारी दिए ।

यस वर्ष गत आश्विन महिनामा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मंसिर १ गते परेको हो । भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट सप्तरङ्गी टीका लगाएर आपसमा गच्छेअनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसै अनुरुप मनाउन पनि समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.