‘मेलम्चीको पानी काठमाडौँ झार्ने चार दशक लामो सपना कार्यान्वयन नजिक’

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजल ल्याएर काठमाडौँ उपत्यकावासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणको सपना कुनै समस्या नभए विसं २०७७ भित्रै पूरा हुने विश्वास छ । उपत्यकामा छिट्टै उपभोक्ताका आआफ्ना धारामा मेलम्चीको पानी उपलब्ध हुने देखिएको प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
सत्ताईस किमी लामो सुरूङबाट छिट्टै दैनिक १७ करोड लिटर पानी ल्याउने तयारी रहेको छ । सुरूङभित्रका गेटहरूको पुनःडिजाइन अनुरूप बलियो पुनःनिर्माणको काम धमाधम भइरहेकाले आउँदो मङ्सिरभित्रै सुरूङमा पानी पठाउने र परीक्षण गर्ने गरी तयारी अन्तिम रूपमा भइरहेको छ ।
याङ्ग्री र लार्केबाट थप ३४ करोड लिटर पानी ल्याउने हिसाबले ‘हेड वक्र्स’ को निर्माण तीव्र रूपमा चलिरहेको छ । सुरूङ जम्मा ५१ करोड लिटर पानी ल्याउन सकिने गरी तयार भइसकेको छ । जम्मा रु २९ अर्ब बजेट लागतमा निर्माण भइरहेको यस आयोजनाले उपत्यकामा पानीको सङ्कट र तीर्खा मेटाउन महत्वपूर्ण योगदान गर्ने विश्वास सर्वत्र गरिएको छ ।
मेलम्ची खानेपानी आयोजना शुरु भएको लामो समयपछि पूरा हुन लागेको छ । प्रधानमन्त्री ओलीको नेतृत्वका कारण नै यो सम्भव भएको थापाले उल्लेख गरेका छन् । आयोजनामा यसअघि काम गरेको इटालियन कम्पनीले श्रम र सामान आपूर्ति गर्नेलाई भुक्तानी गर्न बाँकी छ । यो समस्याको विवेकसम्मत सम्बोधन गरेर अघि बढ्दा आयोजनाको सफल कार्यान्वयन अन्तिम चरणमा पुगेको बताइएको छ ।
