मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छु : राष्ट्रपति ट्रम्प
वासिङ्टन, १९ कात्तिक : अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ ।
तर राष्ट्रपतिका दुबै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गर्नु भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गर्नु भएको छ ।
करोडौं मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गर्नु भएको छ । उहाँले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताउनुभयो ।
उहाँले भन्नुभएको छ, “साँच्चिकै भन्नुपर्दा चुनाव हामीले जितिसक्यौं । चुनावमा धाँधली भएको पाइएको छ, र यो हाम्रो मुलुकका लागि निकै दुःखद पक्ष हो ।” उहाँले आफूले चुनावी नतिजाको विषयलाई लिएर सर्वोच्च अदालतमा चुनौती दिने पनि बताउनुभयो ।
उहाँले चुनावमा सहयोग गर्ने परिवारका सदस्य तथा मतदानमा भाग लिने जनता सबैलाई धन्यवाद दिनुभयो ।
राष्ट्रपति ट्रम्पले चुनावमा आफू विजयी भइसकेको भनी गर्नु भएको दाबीलाई रिपब्लीकन पार्टीकै कतिपय वरिष्ट सदस्यहरुले अपरिपक्व भनाई भन्दै ट्वीट गर्नु भएको छ ।
ट्रम्पविरुद्ध प्रदर्शन गर्ने तीन जना पक्राउ
राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् ।
ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगै अरु सयौँले प्रदर्शन गरेका थिए ।
शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्ति जनाएका छन् ।
उनीहरुले प्रदर्शन गर्दा सडक समेत अवरुद्ध भएको थियो । प्रदर्शनकारीहरुले हामी न्याय पाउदैनौँ भने उनीहरुले शान्ति पाउँदैनन् भन्ने नारा लगाएका थिए ।
