युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल

Imageकाठमाडौं, १७ कात्तिक : इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे ।

घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३२ औं मिनेटमा स्पेजियाका पोबेगाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

परिवर्तित खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डो चम्किए ।

खेलको ५६ औं मिनेटमा पाउल डिबालाको स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले ५९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।

६८ औं मिनेटमा एड्रियनले गोल गर्दै युभेन्ट्सको अग्रता ३-१ को बनाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा पेनाल्टीबाट रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४-१ को जित दिलाए ।

कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै मैदान प्रवेश गरेको पहिलो खेलमै रोनाल्डोले दुई गोल गरेका हुन् ।

करिब ३ साता मैदान बाहिर रहेका रोनाल्डोले ४ खेल गुमाएका थिए ।

जितसँगै युभेन्ट्सले ६ खेलमा १२ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।

स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

सिरी ‘ए’ अन्तर्गत नै अर्को खेलमा लाजियोले टोरिनोलाई ४-३ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.