राजस्थानको छैटौं जित, पन्जाब ७ विकेटले पराजित

काठमाडौँ, १५ कात्तिक : राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो ।

पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्जु सामसनले ४८ रन जोड्दा रोबिन उथप्पाले ३० रन बनाए ।

कप्तान स्टिभ स्मिथ ३१ रनमा अविजित रहदा जोस बट्लर २२ रनमा अविजित रहे ।

पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । शतक बनाउन एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गरे ।

यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए । ग्लेन म्याक्स्वेलले अविजित ६ रन जोड्दा मन्दिप सिंह सुन्य रनमा आउट भए ।

राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले २/२ विकेट लिए ।

पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । र, राजस्थानले प्ले अफ सम्भावना कायम राखेको छ । राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ ।

यस्तै राजस्थानले पन्जाबलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । यस अघिको भेटमा पन्जाबलाई राजस्थानले ४ विकेटले हराएको थियो ।

पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौंथो स्थानमा यथावत रहेको छ ।

राजस्थानले पन्जाबलाई हराएसँगै प्ले अफ होड समेत रोमान्चक मोडमा पुगेको छ । प्ले अफमा तीन टिम पुग्न बाँकी रहेको छ ।

मुम्बई इन्डियन्सले प्ले अफमा स्थान बनाईसकेको छ । यस्तै चेन्नई सुपर किङ्स भने प्ले अफ होडबाट बाहिरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.