गान्धीको १५० औँ जन्मजयन्ती मनाइयो
काठमाडौँ, १६ असोज : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अहिंसाका प्रवत्र्तक महात्मा गान्धीको विचार अग्रगति र प्रगतिका लागि सान्दर्भिक रहेको बताउनुभएको छ ।
गान्धीको १५० औँ जन्मजयन्ती तथा आहिंसा दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले गान्धीको विचार राजनीतिक दर्शन मात्र नभएर आजको विश्व मानवका लागि जीवन पद्धतिका रुपमा विकास भएको बताउनुभयो । गान्धी सम्पूर्ण विश्वका अहिंसा र शान्तिका पक्षधर व्यक्तिको नेताका रुपमा रहनुभएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “गान्धी केवल भारतको मात्र होइन, शान्ति र अहिंसाको पक्षमा रहेका विश्व मानव समुदायको नेता हुनुहुन्छ ।”
नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्न नीति, पञ्चशीलको सिद्धान्त तथा अन्तर्राष्ट्रिय कानून र प्रचलनमार्फत विश्व शान्तिमा आधारित भएको बताउँदै उहाँले गान्धीको शान्ति र अहिंसाको विचारसँग नेपालको परराष्ट्र नीतिका आधारभूत भावना मेल खान्छन् भन्नुभयो ।
शान्तिपूर्ण सङ्घर्षबाट आर्जित शक्तिले विश्वमा स्वतन्त्रता, न्याय र आत्मसम्मानको आन्दोलनमा ठूलो भूमिका खेलेको उल्लेख गर्दै रक्षामन्त्री पोखरेलले शान्तिका पक्षमा उभिने विश्वका नेतामध्ये नेल्सन मण्डेला र मार्टिन लुथर किङ गान्धीको विचार र व्यवहारबाट प्रभावित भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले गान्धीले विश्व समुदायलाई दिएको अहिंसा र शान्तिको विचारका कारण विश्वमा भारतको उचाइ बढेको बताउनुभयो । सो अवसरमा गान्धीको जीवनदर्शनसँग सम्बन्धी प्रदर्शनी र गान्धी भजन प्रस्तुत गरिएको थियो ।
अहिंसाको बाटोमा गरिएका आन्दोलन दिगो हुन्छ : सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताउनुभएको छ ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औँ गान्धी दिवसका अवसरमा आयोजना गरेको २१ औँ शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा उहाँले महात्मा गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका शीर्ष पुरुष भएको बताउनुभयो ।
“अङ्ग्रेजजस्तो बलियो शक्तिलाई आन्दोलनबाट हटाउन गान्धीको महत्वपूर्ण योगदान रहेको थियो,” उहाँले भन्नुभयो । सभापति देउवाले गान्धीले देखाएको बाटोमा ठूला परिवर्तन हुन्छ भन्ने सन्देश नेपालमा भएका परिवर्तनले दिएको उल्लेख गर्नुभयो । उहाँले काँग्रेस नेता स्वर्गीय महेन्द्रनारायण निधि गान्धीवादी नेता भएको भन्दै गान्धीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्नुभयो ।
काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले गान्धीले चलाएको अहिंसात्मक आन्दोलनमा नेपाली जनताको पनि उत्तिकै साथ र सहयोग रहेको उल्लेख गर्नुभयो । “गान्धीले देखाएको अहिंसा र शान्तिको बाटोमा अहिले भारतीय जनता अगाडि बढेका छन्,” उहाँले भन्नुभयो । नेता निधिले बन्दुकको नालबाट ल्याएको सत्ता लामो समय टिक्न नसक्ने स्पष्ट पार्नुभयो ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिले गान्धी बहुआयमिक क्षमताका व्यक्ति भएको बताउनुभयो । “सत्यको पक्षमा कसैसँग नडराउने गान्धीको विशेषता थियो,” उहाँले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले हिंसाको विरुद्धमा गान्धीले चालेको कदम महत्वपूर्ण रहेको बताउनुभयो । “गान्धीलाई माक्र्सवादको दृष्टिकोणले समेत हेर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
भारतीय जनता पार्टीका प्रवक्ता एवं सांसद तरुण विजयले गरीब, दुःखी र शोषित जनताको पक्षमा उभिने व्यक्ति गान्धी भएको बताउनुभयो । “भारतीय स्वतन्त्रताका सेनानीको रुपमा गान्धीलाई लिन सकिन्छ,” उहाँले भन्नुभयो । उहाँले विश्वेश्वरप्रसाद कोइराला नेपालका लागि गान्धीवादी नेता भएको उल्लेख गर्नुभयो ।
काङ्ग्रेस आईका सचिव चन्द्र कुमारले गान्धीको आदर्श र सिद्धान्तलाई अहिलेका युवामाझ बुझाउनु जरुरी रहेको उल्लेख गर्नुभयो । “भारतलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउन गान्धीको अतुलनीय योगदान रहेको छ,” उहाँले भन्नुभयो । सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, प्रा वीणा पौड्याललगायतले गान्धी भारतको मात्र नेता नभएर विश्वको नेता भएको बताउनुभयो ।
