च्याम्पियन्स लिगमा बार्सिलोनाले युभेन्ट्सलाई २–० ले हरायो
काठमाडौं, १३ कात्तिक : च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्ट्सलाई हराएको छ ।
बुधबार राति समूह जीको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन महारथी युभेन्ट्सलाई २–० ले हराएको हो ।
बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले एक एक गोल गरे ।
क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउ सहितका बोर्ड सदस्यले राजीनामा दिएपछि बार्सिलोना टुरिन भ्रमणमा निस्किएको थियो ।
समूह चरणको ड्र सार्वजनीक हुने बित्तिकै धेरैले यस खेललाई मेस्सी र रोनाल्डोको भिडन्तको रुपमा ब्याख्या गरेका थिए ।
बुधबारको खेललाई दुई वर्षपछि मेस्सीविरुद्ध क्रिस्टियानो रोनाल्डोको भिडन्त हुने भनेर प्रतिक्षा गरे पनि रोनाल्डो कोरोनाभाइरसको संक्रमणका कारण खेलमा सहभागी हुन सकेनन् । पोर्चुगलका लागि खेल्ने क्रममा गत १३ अक्टुबरमा उनमा संक्रमण पुष्टि भएको थियो । समयमा नेगेटिभ रिपोर्ट नआउँदा उनी खेलमा सहभागी हुन पाएनन् ।
खेलपछि बार्सिलोनाले सामाजिक सञ्जालमा विपक्षीलाई जिस्क्याउँदै मेस्सीको तस्विर राखेर लेखेको थियो – युभेन्टेस, तपाईंहरुको मैदानमा ‘गोट’ (सर्वकालिन महान् खेलाडी) लाई हेर्न पाएकोमा खुसी छौँ ।’

युभेन्ट्सका मुख्य फरवार्ड अल्भारो मोराटा गोल गर्न चुकेको खेलमा युभेन्ट्सले घरेलु मैदानमा हारको नतिजा ब्यहोर्यो । दोस्रो हाफमा मोराटाले गरेको गोललाई रेफ्रीले भिडियोको सहायतामा अफसाइड दिएका थिए ।
सोही समूहको अर्को खेलमा डायनामो किभ र फेरेन्किोव्रोसी टीसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।
बार्सिलोना २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको युभेन्ट्सको तीन अंक छ । डायनामो किभ र फेरेन्किोव्रोसीले एक एक अंक जोडेका छन् ।
