सङ्क्रमितले बिपी प्रतिष्ठानमा रु ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने
धरान, ६ कात्तिक : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।
यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको छ ।
अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जनाउनुभएको छ । उहाँका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले रु सात हजार धरौटी राख्नुपर्ने र प्रतिदिन रु दुई हजार शुल्क तिर्नुपर्नेछ ।
हल्का लक्षण भएकाहरु रु १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन रु तीन हजार ५०० शुल्क तिर्नु पर्ने छ । मध्यम लक्षण भएका बिरामीले रु ३५ हजार धरौटी र प्रतिदिन शुल्क रु सात हजार ५०० तिर्नुपर्नेछ । यस्तै गम्भीर लक्षण भएका बिरामीले रु ६० हजार धरौटी राखी दैनिक रु १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ । प्रतिष्ठानले पिसिआर परीक्षणका लागि रु दुई हजार २०० शुल्क तोकेको छ ।
यसअघि प्रतिष्ठानले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि शुल्क निर्धारण गरेको हो । सरकारले कोरोना सङ्क्रमितका हकमा १४ दिनसम्म आइसोलेशनमा बस्ने प्रावधान बनाएकामा अहिले लक्षण नदेखिएका हकमा १० दिनमै घर फिर्ता गराउने र एक सातासम्म बिरामी स्वयंले होम आइसोलेशनमा बस्नुपर्ने मापदण्ड बनाएको छ । प्रतिष्ठानले पनि सोही प्रोटोकललाई लागु गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
३९६ जनाको स्वाब फिर्ता
शुल्क निर्धारण गरिएपछि धरान उपमहानगरपालिकाले बुधबार संकलन गरेको स्वाबको नमूना प्रतिष्ठानले फर्काएको छ । स्वास्थ्य मन्त्रालयले निःशुल्क नलिनू भनेपछि उपमहानगरले सङ्कलन गरेको स्वाब परीक्षण नगरी फिर्ता गरेको जनाइएको छ ।
सङ्क्रमित कर्मचारीको मृत्यु
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला कर्मचारीको आज उपचारका क्रममा मृत्यु भएको हो । उहाँलाई उच्च रक्तचापको पनि समस्या थियो ।
उहाँलाईगत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको र यही कात्तिक ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
