वीरगञ्जको अपार्टमेन्टबाट २३ किलो सुन बरामद
पर्सा, १ कात्तिक : प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाको श्रीगणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद गरेको छ । पर्सा प्रहरीकी एसपी गंगा पन्तको नेतृत्वको गएको टोलीले उक्त परिमाणमा सुन बरामद गरेको हो ।
भारत पूर्वी चम्मपारण हरैया बस्ने अशोक सिन्हाको बस्ने फ्ल्याटबाट सुन बरामद भएको हो । सुन बरामद भएपनि कोही पक्राउ परेका छैनन् । प्रहरीले २ घण्टा बढी समय लगाएर अपरेसन गरेको थियो । सुनसँगै चाँदीको गरगहाना तथा थाल गरेर २ किलो चाँदी बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसक्रममा १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ ।
सबै गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।
