उपत्यकामा २४०२ सहित ४३९२ जनामा कोरोना संक्रमण, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौं, ३० असोज : पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३९२ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४०२ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा तीन हजार ५२२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८८ हजार ४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ८ प्रतिशत रहेको छ ।
पछिल्लो घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८०८ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५
कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।
