चक्रपथ दोस्रो चरणको विस्तारका लागि बाँकी संरचना हटाइने 

कलङकी देखि स्वयम्भू सम्मको सडक क्षेत्र । तस्वीर: प्रदीपराज वन्त

काठमाडौँ, २५ असोज : काठमाडौँ चक्रपथको दोस्रो चरणका विस्तारका लागि निर्माणस्थलमा संरचना चाँडो हटाउने निर्णय भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल टेलिकम, सडक विभागलगायत कार्यालयका प्रतिनिधिसहित आज सिंहदरबारमा भएको बैठकले कामलाई तत्काल गति दिन सम्बन्धित निकायसँगका समन्वयमा निर्माणस्थल खाली गराउने निर्णय गरेको छ ।

बैठकले एक महिनाभित्र बिजुलीका खम्बा स्थानान्तरण गर्ने, तीन महिनाभित्र ‘हाइ भोल्टेज टावर’ स्थानान्तरण गर्ने, सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन गर्नेलगायत निर्णय गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणबाट विगतमा विभिन्न बैठकमा भएका प्रतिबद्धतानुसार एक महिनाभित्र सबै खम्बा स्थानान्तरण गरी तार हालिने निर्णय भएको छ । आगामी तीन महिना (पुस मसान्तभित्र) कारखाना चोक र सानो भ¥याङस्थित ‘हाइ भोल्टेज टावर’ स्थानान्तरण गरिने भएको छ । काठमाडौँ महानगरपालिकासँगका समन्वयमा स्वयम्भूस्थित चैत्य आगामी कात्तिक मसान्तभित्र हटाइने तथा काठमाडौँ चक्रपथ सुधार योजनामार्फत नयाँ बसपार्कस्थित आकाशे पुल भत्काउने निर्णय भएको छ ।

कलङकी स्वयम्भू सडक खण्ड । तस्बिर: प्रदिपराज वन्त

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी नारायणगोपाल चोक र महाराजगञ्जको सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन गर्ने भएको छ । सडक सीमासम्बन्धी अन्योल हटाउन राजपत्र र कानूनी दस्तावेजको अध्ययन र थप परामर्श गरी सकेसम्म चाँडो नीतिगत निर्णय गर्न सडक विभागबाट पहल गर्ने पनि निर्णय भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव यादवप्रसाद कोइराला, प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्र्की, टेलिकमका महानिर्देशक अनन्तमान सिंह, प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक लेखनाथ कोइराला, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायत सहभागी हुनुभएको थियो ।

चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वर–कलङ्की सडक आठ लेनमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड(कलङ्कीदेखि चाबहिल) सडक विस्तार गर्ने सहमति भएको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण शुरु गर्ने बताएको छ । सोही सडक निर्माणका लागि गत वर्षदेखि नै निर्माणस्थल खाली गर्ने काम भइरहेको छ । यस क्षेत्रमा रहेका रुख कटान, पूर्वाधार सार्ने काम भइरहेको छ ।

स्वयम्भू वालाजुु सडक खण्ड । तस्बिर: प्रदिपराज वन्त
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.