वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने क्रम बढ्दो
टेकराज पोखरेल । नवलपुर, २१ असोज : चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ । सो आवमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु हुनुका साथै १२० घाइते भएका थिए ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामका अनुसार आव २०७४/७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु तथा ३२ जना घाइते भएका थिए । त्यस्तै आव २०७६/७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ तथा घाइतेको सङ्ख्या ३४ रहेको सूचना अधिकारी रामले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेका उहाँले बताउनुभयो ।
मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाउन थालेको छ । “निकुञ्जका जनावर बस्तीमा प्रवेश रोक्नका लागि सबैभन्दा प्रभावकारी आरसिसी पर्खाल भएको छ”, सूचना अधिकारी रामले भन्नुभयो, “यो धेरै खर्चिलो भएकाले निकुञ्जले मेसजाली तथा झड्का लगाउन सहयोग गर्ने गरेको छ ।” विद्युतीय झड्काबाट वन्यजन्तुलाई क्षति नहुने भन्दै उहाँले त्यो विद्युतीय झड्का नाघेर जनावर बस्तीमा पस्न नसक्ने बताउनुभयो ।
करिब छ करोड राहत वितरण
निकुञ्जका जनावरबाट हुने मानवीय क्षतिका लागि वर्षेनी राहत प्रदान गरिँदै आएको सूचना अधिकारी अशोक रामले बताउनुभयो । उहाँका अनुसार पछिल्लो तीन वर्षमा जनावरका कारण मृत्यु भएका तथा घाइते भएका व्यक्तिको परिवारलाई करिब रु छ करोड राहत प्रदान गरिएको छ । आव २०७४/७५ देखि आव २०७६/७७ सम्म वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षतिवापत निकुञ्जले राहतस्वरुप रु पाँच करोड ९० लाख ९६ हजार ६४४ प्रदान गरेको रामले बताउनुभयो ।
निकुञ्जले आव २०७४/७५ मा मृत्यु भएका पाँच जनाको परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु ५० लाख राहत उपलब्ध गराएको थियो । त्यस्तै निकुञ्जका जनावरबाट घाइते भएका व्यक्तिको उपचार खर्चसमेत निकुञ्जले व्यहोर्दै आएको छ । सो आवमा जनावरबाट घाइते भएका ३२ व्यक्तिको उपचार खर्चवापत रु २२ लाख २४ हजार ४५० पीडित परिवारलाई उपलब्ध गराइएको उहाँको भनाइ छ ।
जङ्गली जनावरको आक्रमणबाट व्यक्तिको मृत्यु भएमा निकुञ्जले रु १० लाख तथा घाइते भएमा उपचार खर्च उपलब्ध गराउँदै आएको सूचना अधिकारी रामले बताउनुभयो । आव २०७५/७६ मा जङ्गली जनावरका आक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई निकुञ्जले राहतस्वरुप रु दुई करोड २० लाख उपलब्ध गराएको छ । त्यस्तै घाइते भएका व्यक्तिको उपचार खर्चवापत रु एक करोड ११ लाख ९५ हजार ५१६ प्रदान गरिएको रामको भनाइ छ ।
अघिल्लो आव २०७५/७६ मा भन्दा गत आव २०७६/७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको सूचना अधिकारी रामले बताउनुभयो । गत आव २०७६/७७ मा जनावरबाट मृत्यु भएका नौ जनाको परिवारलाई रु ९० लाख तथा घाइते भएका ३४ जनाको उपचार खर्चवापत रु छ लाख ७६ हजार ६७८ प्रदान गरिएको उहाँको भनाइ छ ।
सबैभन्दा बढी क्षति चितवनमा
निकुञ्जको जनावरका कारण सबैभन्दा बढी क्षति चितवनमा भएको छ । निकुञ्जबाट निस्किएका जनावरले आक्रमण गर्दा मृत्यु हुने ३६ मध्ये ३४ वटा घटना चितवन जिल्लाको तथा दुई घटना नवलपरासीको भएको निकुञ्जले जनाएको छ । त्यस्तै घाइते भएका २५६ घटनामध्ये २१२ वटा चितवन, ३६ नवलपरासी, तीनवटा मकवानपुर, दुईवटा सर्लाही र एउटा पर्सामा भएका घटना हुन् ।
चालू आव २०७७/७८ को तीन महिनामा चितवन निकुञ्जबाट निस्किएको बाघको आक्रमणले तीन जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका तीनै जना चितवनका हुन् भने जङ्गलमा घाँस काट्ने जाने क्रममा उनीहरुलाई बाघले आक्रमण गरेको थियो । यस आवमा ज्यान गुमाउनेको परिवारलाई राहतवापतको रकम भुक्तानी गर्नका लागि प्रक्रिया भइरहेको सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो ।
मानव आक्रमण गर्ने बाघलाई निगरानी गरिँदै
चितवनमा यही असोज १० र १२ गते बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो । दुई दिनको बीचमा दुई जनाको ज्यान गएपछि यसबारे अनुसान्धान थालिएको छ । वन र वन्यजन्तुको क्षेत्रमा काम गर्दै आइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले कुमरोजमा मानिसलाई आक्रमण गर्ने बाघलाई क्यामेरामार्फत निगरानी बढाइएको छ । कार्यालयका प्रमुख डा बाबुराम लामिछानेले फेरि पनि अप्रिय घटना घट्नसक्ने भएकाले कुमरोज सामुदायिक वनमा आक्रमण गर्नेे बाघलाई निगरानी बढाइएको जानकारी दिनुभयो ।
“बाघ अहिले पनि सोही स्थानमा हिँडडुल गर्ने गरेको क्यामेरामा दृश्य कैद भइरहेको तर अहिले तत्काल समातेर राख्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बाघ बस्तीमा प्रवेश गरे त्यसलाई अति संवेदनशील मानिन्छ । त्यही भएर क्यामेरा राखेर त्यसको गतिविधि अध्ययन गर्ने काम पनि भइरहेको छ । बस्ती प्रवेश गर्ने सङ्केत देखाए स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्छाैँ ।”
बाघको बानी ब्यहोरा र स्वास्थ्य अवस्थाबारे जानकारी लिन घटना भएकै दिनबाट क्यामेरा राखेर निगरानी गरिएको कार्यालयका प्रमुख लामिछानेले जानकारी दिनुभयो । बाघको दैनिक कैद भएको दृश्यको आधारमा अध्ययन तथा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । डा लामिछानेका अनुसार बाघ अशक्त बूढो, शिकार गर्न नसक्ने, अन्य बाघसँग बस्न नसकेको खण्डमा वनको छेउ भागमा आउने गर्दछ । यो अवस्थामा मानिसलाई आक्रमण गर्ने सम्भावना बढी हुन्छ । प्रमुख लामिछानेका अनुसार कुमरोजमा आक्रमण गर्ने बाघ पूर्णरूपमा स्वास्थ रहेको पत्ता लागेको छ । कुनै पनि चोट, घाउ र अशक्तता देखिएको छैन । सो बाघ करिब आठ वर्ष उमेरको भाले पाटेबाघ हो । सन् २०१८ को बाघ गणनाको क्रममा सो बाघ पाँच वर्षको थियो ।
कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले रत्ननगर–६ का ५५ वर्षीय बबना चौधरीलाई आक्रमण गरेको थियो । घटनामा बाघले जरायो भर्खर मारेर खाना थालेका समय मृतक सोही स्थानमा घाँस काट्दै पुगेपछि आक्रमण गरेको देखिएको छ । त्यस्तै भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बाघले स्थानीय ६५ वर्षीय जगदीश चौधरीलाई मारेको थियो । यो बाघलाई अहिले निकुञ्जले नियन्त्रणमा राखेको छ । बाघलाई अहिले खोरमा राखेर उपचार गरिँदैछ । दुई घटना घटाउने बाघ भने फरक–फरक हुन् ।
“बाघ लजालु स्वाभावको हुन्छ”, उहाँले भन्नुभयो, “मानिससँग टाढै बस्छ । तर शिकार गरेको आहार खाने समयमा वा सोही स्थानमा नजिकै भएमा आक्रमण गर्छ ।” बाघहरु अस्वस्थ भएर मानिसलाई आक्रमण गरेको भन्ने निष्कर्ष निक्लिए त्यो बाघलाई उपचारपछि छाडिन्छ । चितवन राष्ट्रिय निकुञ्जको बाघमध्ये चार प्रतिशतले मानव बस्ती नजिक रहने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । चितवनमा हाल ९३ वटा बाघ रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको पाटेबाघ, एकसिङ्गे गैँडा पाइन्छ । यही जनवारबाट बर्सेनि निकुञ्जसँग बस्ती जोडिएका मानिसले ज्यान गुमाउनुपरेको छ । निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न कार्यक्रम गर्दै आए पनि कमी भने आउन सकेको छैन ।
