ब्राइटनलाई हराउँदै एभर्टन शीर्ष स्थानमा, रोड्रिगेजको दुई गोल

काठमाडौं, १८ असोज : इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार चौंथो जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार चौंथो जित निकालेको हो ।

गोडिसन पार्कमा एभर्टनलाई जित दिलाउन जेम्स रोड्रिगेजले दुई गोल गरे । यस्तै डोमिनिक लेविन र एरि मिनाले एक एक गोल गरे ।

ब्राइटनका निल माउपे र युभेस बिसोउमाले एक एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४५ औं मिनेटमा मिनाले गोल गर्दा पहिलो हाफमा एभर्टन २-१ ले अघि रह्यो ।

खेलको ५२ औं मिनेटमा रोड्रिगेजले गोल गर्दै एभर्टनको अग्रता ३-१ को बनाए । ७० औं मिनेटमा रोड्रिगेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा ब्राइटनका बिसोउमाले थप एक गोल फर्काएपनि एभर्टन ४-२ ले विजयी भयो ।

घरेलु मैदानको जितसँगै एभर्टन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एभर्टनले ४ खेलमा ४ जितसहित १२ अंक जोडेको छ ।

ब्राइटन ४ खेलमा ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

सिटीसँग लिड्सको बराबरी

सिटीसँग लिड्सको बराबरी 

प्रिमियर लिग फुटबलमा यसै सिजन शीर्ष डिभिजनमा उक्लेको लिड्स युनाइटेडले म्यान्चेस्टर सिटीसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा लिड्सले सिटीसँग १–१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा लिड्सले पुनारागमन गर्दै एक–एक अंक बाँडेको हो । खेलमा सिटीले लिएको अ्रतालाई उल्टाउँदै लिड्सले बराबरी खेलेको हो ।

सिटीका लागि खेलको १७ औँ मिनेटमा रहेम स्ट्रलिङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको सिटीले आफ्नो अग्रतालाई अन्तिमसम्म जोगाउन सकेन ।

लिड्का लागि खेलको ५९ मिनेटमा रोर्डिगोले गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै ४ खेल खेलेको लिड्सले ७ अंकसँगै आफूलाई पाचौँ स्थानमा उभ्याएको छ । यता तीन खेल खेलेको सिटीको ४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.