बलात्कारपछि हत्या गरिएकी बालिका सम्झनाको दाहसंस्कार

बझाङ, १४ असोज : बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन् ।

शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताउनुभयो ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव जलाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई रु १० लाख दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिनुभयो ।

बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना बिकको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले बलात्कारपछि हत्या गरेको आशंकामा मष्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई सार्वजनिक गरेको हो ।

गत असोज ७ गते गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव मन्दिरमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो ।

पक्राउ परेका राजेन्द्रविरुद्ध अर्की बालिकालाई बलात्कार गरेको उजुरी समेत परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.