म्यानचेस्टर सिटीको लज्जास्पद हार, लेस्टरको जितमा जिमी भार्डीको ह्याट्रिक
काठमाडौं, १२ असोज : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीमाथि लेस्टर सिटीले ५-२ गोलको जित निकालेको छ ।
लेस्टरको जितमा जिमी भार्डीले ह्याट्रिक गरे । भार्डीले ३७ मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए । ५३ मिनेटमा दोस्रो गोल गरेका भार्डीले ५८ मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
लेस्टरका लागि म्याडिसनले ७७ मिनेटमा चौथो गोल गर्दा टेइलेम्यान्सले ८८ मिनेटमा पेनाल्टीमै पाँचौ गोल गरेका थिए ।
सिटीका लागि महारेजले चौथो मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ८४ मिनेटमा एकेले अर्को गोल गरे पनि त्यसले खेलमा कुनै प्रभाव पारेन ।
जितसँगै लगातार तीन जित निकालेर लेस्टर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा जित निकालेको सिटी दोस्रो खेलमा भने पराजित भयो ।
यसैगरी आइतबार राति भएको खेलमा वेस्ट ह्यामले उल्भ्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
५७ औं मिनेटमा बोविनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
खेलको ६६ औं मिनेटमा उल्भ्सका राउल जेमिनेजले आत्मघाती गोल गरेपछि वेस्ट ह्याम ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा सेबास्टियन हलेरले गोल गर्दै वेस्ट ह्यामलाई ४-० को जित दिलाए ।
उल्भ्सलाई हराएसँगै वेस्ट ह्यामले सिजनको पहिलो जित निकालेको छ ।
लिगका अन्य खेलमा लिड्सले सेफिल्डलाई १-० गोलले पराजित गरेको छ भने टोटेनहम र न्युकासलले भने १-१ गोलको बराबरी खेलेका छन् ।
