किशोर श्रेष्ठले दिए राजीनामा, प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा बुढाथोकी
काठमाडौँ, ९ असोज : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन् ।
३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।
कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहने छन् । श्रेष्ठको पदावधि यही असोज १२ गते सकिँदैछ । सदस्य र कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
‘तीन वर्षदेखि पदीय हिसाबले कार्यकारी भूमिका निर्वाह गरेको अवधि तपाईं–हाम्रा निम्ति कठिन थियो’ राजीनामापत्रमा भनिएको छ, ‘प्रेस काउन्सिल मात्र होइन, समग्र पत्रकारिता जगत्को स्वतन्त्रताको जगेर्ना र हित प्रवद्र्धनमा सुरुदेखि नै सङ्घर्ष गर्दै आउनुपरेको क्षण अत्यन्तै रोमाञ्चक र चुनौतीपूर्ण रह्यो ।’
काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन् ।
आज कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो ।
साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् ।

