तुइनको सहारामा वर्षौँदेखि वारपार

जाजरकोट नलगाड नगरपालिका १ माउरे ठुलाबगर र पश्चिम रुकुमको आठबिसकोट नगरपालिका– १४, छोटेतरा बीच भेरी नदीमाथि तुइनबाट यात्रा गर्दै स्थानीयवासी एवं विद्यार्थी । पुल नभएका कारण यहाँका स्थानीय जोखिम मोलेर दैनिक तुइनबाट यात्रा गर्न बाध्य छन । तस्वीर हेमन्त केसी, जाजरकोट

जाजरकोट, ९ असोज : पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जान शिवालय गाउँपालिका–१ सालतडा र शिवालय गाउँपालिका–९ बालुवामा वर्षौँदेखि तुइनको सहारामा वारपार हुँदै आएको छ । दैनिक त्यही तुइनको सहाराबाट स्थानीय वारपार गर्छन् ।

जाजरकोटको शिवालय गाउँपालिका–१ का कालीबहादुर पुन नदी तरेर पारीपट्टि जानु परे तुइनकैै सहारा लिनुपर्ने बाध्यता रहेको सुनाउँछन् । नजिकमा पुल नहुँदा छेडागाड तर्न तुइनकै सहारा लिनुपरेको उहाँको भनाइ छ । झोलुङ्गे पुलको लागि पटक–पटक माग गरे पनि सुनुवाइ हुन नसक्दा जोखिम मोलेरै तुइनबाट वारपार गर्नुपरेको उहाँले गुनासो गर्नुभयोे । शिवालय गाउँपालिका–१ सालतडा र छेडागाड नगरपालिका १२ कार्कीगाउँ जोड्ने छेडागाड (खोला) तर्न स्थानीयवासीले वर्षौँदेखि तुइनको सहारा लिने गरेका छन् । तुइन नहुँदा स्थानीयलाई छेडागाड तर्न निकै सकस हुन्थ्यो ।

जाजरकोट, डोल्पा नलगाड नगरपालिका तल्लु र रुकुम पश्चिम आठविसकोट नगरपालिका अनाह बीचमा रहेको भेरी नदीमा पुल नहुँदा तुईनबाट गाडी तारिँदै । तस्वीरः हेमन्त केसी

वर्षात्को समयमा पाँच घण्टा टाढा मोर्क गएर झोलुङ्गे पुल तर्ने गथ्र्याँै छेडागाड नगरपालिका १२ कार्कीगाउँका रामबहादुर खत्रीले भन्नुभयो, “चिन्डा, नाउ (डुङ्गा) लगायत साधनबाट यात्रा गर्दा धेरैले अकालमा ज्यान गुमाए । २५ वर्षअघि तुइन बनेपछि जोखिम भए पनि केही सहज त भएको तर महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई तुइन तर्न निकै सकस हुन्छ ।”

तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासीको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको उनीहरुको गुनासो छ । पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भिरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाति भएको स्थानीयवासी बताउँछन् ।

जाजरकोट शिवालय गाउँपालिका–१ सालतरा र छेडागाड नगरपालिका–१२ कार्कीगाउँ बीचमा रहेको छेडा खोलामाथि पुल नहुँदा तुइनको सहायताले नदी तर्दै स्थानीयवासी । तस्बिरः हेमन्त केसी
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.