हिमालय एयरलाइन्सलाई आफैं ग्राउन्ड ह्यान्डलिङ गर्ने अनुमति

काठमाडौं, ९ असोज :  सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ ।

हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज ४ गते हिमालयलाई आफ्ना जहाज आफैं भूमिस्थ प्रबन्ध गर्ने अनुमति दिएको हो ।

प्राधिकरणले भूमिस्थ सेवा सञ्चालन निर्देशिका-२०७२ अनुसार विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ प्रमाणपत्र दिइएको उल्लेख छ । हिमालयले अनुमति पाएपछि जहाजको व्यवस्थापन आफैं गर्ने छ ।

यसअघि यस्तो अनुमति थाइ एयरवेज र एयर इन्डियाले मात्र पाएका छन् । बाँकीको भने नेपाल एयरलाइन्सले नै गर्दै आएको थियो ।

अब आफ्ना विमान रोकिएपछि विमानबाट यात्रु ओराल्ने भर्‍याङ हाल्ने, बस लिएर जाने, यात्रुलाई टर्मिनलसम्म ल्याएर छोड्ने, उड्ने यात्रुलाई विमानसम्म पुर्‍याउने, विमानबाट ब्यागेज झार्ने, ब्यागेज बेल्टमा व्यवस्थापन गर्ने, टिकेटिङ गर्ने लगायतका काम हिमालय एयरलाइन्स आफैंले गर्नेछ ।

हिमालयले ४२ उडान तालिका स्वीकृत भएको र सोहीअनुसार उडान गर्ने र त्यसको व्यवस्थापन क्षमता  भएको भन्दै  भदौ ३१ गते प्राधिकरणमा आवेदन दिएको थियो ।

सन् २०१६ देखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको हिमालयमा चिनियाँ लगानी समेत छ । नेपालको यती समूहको बहुमत स्वामित्व भएको हिमालयले चार जहाजबाट युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गरिरहेको छ ।

हिमालयसँग  एयरबसका  ए३२०–२१४ सिरिजका तीन र ए३१९–११५ सिरिजको  एक जहाज छन् ।

प्राधिकरणले हिमालयलाई यस्तो सेवा सञ्चालन गर्न पूर्वसर्त तोकेको छ । जसअनुसार सेवा सञ्चालन गर्दा चाहिने मेसिन, औजार, तेस्रो पक्ष बीमा (न्यूनतम ५ करोड डलर) गर्नुपर्ने, निर्देशिकाअनुसार शुल्क बुझाउनुपर्ने, व्यवस्थापकीय क्षमता विकास गर्नुपर्ने लगातयका सर्तहरू तोकिएको छ । यी सर्त पूरा भएपछि एयरलाइन्सले सेवा सञ्चालन गर्न पाउने छ ।

आर्थिक वर्ष २०७५/७६ मा ग्राउन्ड ह्यान्डलिङमार्फत निगमले ४ अर्ब ३८ करोड रुपैयाँ कमाएको थियो ।

यो वर्ष निगमले निगमले हिमालय एयरलाइन्सससहित २६ वटा विदेशी वायुसेवा कम्पनी, कार्गो र चार्टर उडानमा आउने विदेशी एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिएर ४ अर्ब ६ करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । निगमलाई एक वर्षमा ग्राउन्ड ह्यान्डलिङबाट डेढदेखि २ खर्ब खुद नाफा हुने गरेको छ । जसले उडानबाट भएको घाटापूर्ति गर्न सघाउने गरेको छ ।

हिमालय एयरलाइन्समा तिब्बती कम्पनी र नेपालको यति समूहको सेयर छ । यो कम्पनीलाई सरकारले स्वदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका रुपमा नेपाल एयरलाइन्सलाई जत्तिकै प्राथमिकता दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.