उरुग्वेका फरवार्ड लुइस सुआरेज एट्लेटिको मड्रिडमा अनुबन्धित

काठमाडौं, ८ असोज :  उरुग्वेका फरवार्ड लुइस सुआरेजले ला लिगा क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् ।

सुआरेजलाई एट्लेटिको मड्रिडले प्रतिद्वन्दी क्लब बार्सिलोनाबाट अनुबन्धन गरेको हो ।

एट्लेटिकोले ६ मिलियन युरो खर्चिएर ३३ वर्षीय सुआरेजलाई क्लब भित्र्याएको हो ।

क्याटलान क्लब बार्सिलोनामा ६ वर्ष बिताएर सुआरेज एट्लेटिको आएका हुन् ।

बार्सिलोना र एट्लेटिको दुबै क्लबले सुआराजले ट्रान्सफरबारे सहमति भएको विज्ञप्तीमार्फत जनाएको छ । बार्सिलोनाले सुआरेजलाई बिहीबार बिदाई गर्ने जनाएको छ ।

एट्लेटिकोले सुआरेजलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको तर सुआरेजका लागि एट्लेटिकोले विभिन्न तरिकाले ६ मिलियन युरो तिर्ने स्पानिस अनलाइन मार्काले जनाएको छ ।

सुआरेजले एट्लेटिकोसँग २ वर्षको सम्झौता गरेका छन् । सुआरेजले एट्लेटिकोमा कर कटाएर प्रत्येक वर्ष ९ मिलियन युरो कमाउनेछन् ।

इटालियन क्लब युभेन्ट्ससँग अनुबन्धको नजिक पुगेका सुआरेजले ला लिगा क्लबमै अनुबन्धित भएका हुन् ।

नागरिकताको समस्याको कारण सुआरेज इटाली जान असमर्थ भएका हुन् ।

सुआरेज सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना आएका थिए ।

बार्सिलोनाका लागि सुआरेजले २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका छन् । यस्तै १ सय ९ असिस्ट गरेका थिए ।

सुआरेज बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने तेस्रो खेलाडी हुन् ।

२०१४ मा लिभरपुलबाट बार्सिलोना पुगेका सुआरेजले त्यहाँ रहँदा ४ पटक ला लिगा ४ पटक कोपा डेल रे १ च्याम्पियन्स लिग १ युइएफए सुपर कप २ स्पानिस सुपर र कप र १ क्लब वर्ल्डकपको उपाधि जिते । साथै उनले एक पटक सर्वाधिक गोलकर्ताको अवार्ड समेत जितेका थिए ।

सुआरेज यस सिजन बार्सिलोना छाड्ने चौथो खेलाडी समेत बनेका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोएमन आएपछि मिडफिल्डरद्वय इभान राकिटिक र अर्टुरो भिदाल अनी डिफेण्डर नेल्सन सेमेडोले बार्सिलोना छाडिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.