आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय

काठमाडौं, ६ असोज : सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताइन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका सार्वजनिक गरेको हो ।

आधिकारिक ट्रेड युनियनले निर्वाचनका लागि असोज १ देखि निर्वाचन आचारसंहिता लागू गरिसकेका थिए । निर्वाचन कार्यक्रम तय गर्न कानुन र संघीय मामिला मन्त्रालयमा राय माग गरिएको थियो ।

दुवै मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएपछि निर्वाचन कार्यालयले आफैं कार्यक्रम बनाएर सार्वजनिक गरेको थियो निर्वाचन आचारसंहिता लागू भएपछि मतदाता हुन योग्यता पुगेका कुनै पनि कर्मचारीको सरुवा गर्न नपाइने नियम छ । सरुवा गरिसके पनि रवाना गराउन नपाइने नियम थियो ।

ट्रेड युनियन निर्वाचन संचालनका लागि मतदाता नामावली संकलन पनि थालिएको थियो । कार्यालयले निर्वाचन सम्पन्‍न नभएसम्मलाई निजामती सेवा ऐन, २०४९ को दफा ५३ २ (क) र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनसम्बन्धी विनियमावली, २०६९ को विनियम १० (१) बमोजिमका मतदाता हुने कर्मचारीको सरुवा, काज सरुवा लगायतका कार्य नगर्न,न गराउन र सरुवा भइसकेको भए रमाना नगर्न, नगराउन पत्रचार पनि गरिएको थियो ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।

कोरोना भाइरसको महामारीको समयमा निर्वाचन गर्न उपयुक्त नहुने भन्दै उनले स्थगित गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.