पीएसजीको पहिलो जित, नेमारलाई दुई खेलको प्रतिबन्ध

काठमाडौं, १ असोज : लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जित निकालेको छ ।नयाँ सिजनको तेस्रो खेलमा पीएसजीले पहिलो जित दर्ता गरेको हो ।
लिगको सुरुवाती दुई खेलमा पीएसजी पराजित बनेको थियो । सन् १९८४–८५ को सिजनपछि पहिलो पटक पीएसजी लिगको सुरुवाती दुई खेलमा हारेको हो ।
खेलको ६५ औं मिनेटमा पीएसजीका अब्दु डायलो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
ड्रेक्सलरले १० खेलाडीमा सिमित बनेको पीएसजीलाई खेलको इन्जुरी समयमा गोल गर्दै जित दिलाएका हुन् ।
घरेलु टोली पीएसजीले गोलकिपर किलोर नाभास, डिफेन्डर मार्किन्होस र फरवार्ड मौरो इकार्डीलाई बुधबारको खेलमा स्वागत गरेको थियो । पीएसजीका ७ खेलाडी कोरोना भाईरसको संक्रमण देखिएपछि एकान्तवासमा रहेका थिए ।
पीएसजीका मिडफिल्डर डी मारियाले गोलका केही अवसरहरु सिर्जना गरेपनि मेट्जका गोलकिपर एलेक्जेन्ड्रे ओकिडेजाले निराश बनाएका थिए ।
जितसंगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ ।
नेमारलाई दुई खेलको प्रतिबन्ध
पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमारले दुई वटा खेल खेल्न नपाउने भएका छन् ।
मार्सेलीसँगको खेलमा भएको विवादपछि रातो कार्ड पाएका नेमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । तर फ्रान्सेली फुटबलको प्रशासकीय निकायले आफूमाथि रंगभेदी व्यवहार भएको भन्ने नेमारको आरोपको छानबिन गर्ने जनाएको छ ।
गत आइतबार राति भएको खेलमा पिएसजीका तीन र मार्सेलीका दुई गरी पाँच खेलाडीले इन्जुरी समयमा रातो कार्ड पाएका थिए । मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउकोमा हिर्काएका कारण नेइमारले रातो कार्ड पाएका थिए ।
नेमारले त्यसपछि आफूमाथि अल्भारोले रंगभेदी टिप्पणी गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत पनि सो आरोप लगाउँदै छानबिनका लागि माग गरेका छन् । अल्भारोले भने नेमारको आरोप अस्वीकार गरेका छन् ।
नेइमारसँगै रातो कार्ड पाएका अरु चार खेलाडीमाथि पनि प्रतिबन्ध लागेको छ । पिएसजीका डिफेन्डर लेविन कुर्जावालाई ६ खेलका लागि निलम्बित गरिएको छ । यस्तै पिएसजीका लियान्ड्रो पारेडेस पनि दुई खेलका लागि प्रतिबन्धित भएका छन् ।
