उपत्यकामा पसल खोल्न पाइने, जोर-बिजोर कायमै

काठमाडौं, ३१ भदौ : उपत्यका प्रशासनले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ । बैठकले अब निषेधाज्ञा लगभग खुलाएको छ ।
तर, केही क्षेत्रका लागि भने अर्को आदेश नहुञ्जेल ‘निषेधाज्ञा’ कायमै हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
दाहालका अनुसार बिहीबारदेखि उपत्यकाका सबै नाका खुला पारिएको छ । नाकाबाट आवतजावत गर्दा हुने स्वास्थ्य जोखिमबारे अब सर्वसाधारण स्वयम् जिम्मेवार हुनुपर्ने दाहालले बताए ।
दाहालका अनुसार बिहीबारदेखि सबै खाले पसल खुल्नेछन्, उनीहरूका लागि यसअघि तोकिएको समय र दिनको पावन्दी हटाइएको छ । यसअघि होटल खोल्न बन्देज लगाइएकोमा बिहीबारदेखि त्यो हटेको छ ।
कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय पनि हटेको छ। सपिङ मलहरू पनि पूर्ण रुपमा खुल्नेछन् ।
उपत्यकामा लगाइएको सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली भने यथावत नै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु हुने जनाएको छ ।
सरकारले असोज १ गतेदेखि देशभर लामो, छोटो तथा मध्यम दूरीका सार्वजनिक तथा निजी सवारी सञ्चालन गर्ने भने पनि जिल्ला प्रशासन काठमाडौंले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा निजी सवारी साधनहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी जोर-विजोर प्रणालीअन्तर्गत सञ्चालन गर्नुपर्ने जनाएको हो ।
तर अत्यावश्यक सेवा, कार्यालय आवतजावत र सबै प्रकारका ढुवानीका साधनको हकमा जोर/विजोर प्रणाली लागु नहुने प्रशासनले जनाएको छ ।
CDO_Press_Release