उद्घाटन खेलमा चितवन टाइगर्स विजयी

काठमाडौँ, १३ असोज : नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउन्डेसनको आयोजनामा आजदेखि यहाँ महिला भलिबल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा चितवन टाइगर्स विजयी भएको छ ।

लिग चरणको पहिलो खेलमा चितवनले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको सो खेलमा चितवनले आर्मीविरुद्ध २५–२१, २५–१३ र २५–२२ अङ्कको जित निकालेको हो ।

यही असोज १७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा न्यू डायमण्ड, चितवन टाइगर्स, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब र पोखरा पिङ्केजको सहभागिता रहेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले रु ६ लाख, उपविजेताले रु तीन लाख तथा तेस्रो हुनेले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर तथा रु ५० हजार पुरस्कार दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.