सिन्धुपाल्चोक पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता
काठमाडौं, २८ भदौ : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा गएराति पहिरो गएको छ । भीरखर्कबाट सुरु भएको पहिरो भोटेकोसीतर्फ खस्नेक्रममा कम्तीमा १० घर बगाएको नगरप्रमुख निमाफुञ्जो शेर्पाले जानकारी दिए ।
कठिन भूगोलका कारण अहिले उद्धारमा कठिनाइ भइरहेको उनले बताए । बाह्रबिसे नगरपालिकाकै अर्को नागपुजे भन्ने ठाउँमा पनि पहिरो गएको र त्यहाँ पनि ८ घर पहिरोले बगाएको स्थानीयले बताएका छन् । वेपत्ताहरूको खोजीकार्य जारी रहेको स्थानीयको भनाइ छ ।
गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।
सिन्धुपाल्चोकमा केहि समय अघि मात्रै पहिरोले गाउँ नै बगाउँदा ठुलो जनधनको क्षति भएको थियो । बाह्रबिसे नगरपालिका–५ जम्बु र जुगल गाउँपालिका–२ लिदी पहिरोले ठुलो क्षति पुर्याएको थियो । केही दिनअघि जुगल गाउँपालिका–२ लिदीमा पनि पहिरो गएको थियो । उक्त पहिरोमा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै वेपत्ता छन् ।
