मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप

काठमाडौं, २८ भदौ : जोमसोम – मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु । जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन् । उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन् ।

गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो । यसपटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थकालीले बताए । आफूले यो वर्ष २० मुरी आलु फलाएको उनले सुनाए । व्यापारीले पाथीको १ सय ८० रुपैयाँभन्दा बढी मूल्यमा बारीबाटै आलु उठाएको उनको भनाइ छ । आलुले अप्रत्याशित भाउ पाएपछि उनी उत्साहित बनेका छन् ।

जानकारका अनुसार एक मुरीमा ६० किलो हुन्छ। २० पाथीको एक मुरी हुन्छ ।

थासाङ–१ टुकुचेका राजन शेर्पाले त एउटै आलु एक किलोभन्दा बढी तौलको फलाए । आफूले ३० मुरी उत्पादन गरेको उनले सुनाए। कोरोना कहर भए पनि मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप भइरहेको उनको भनाइ छ ।

मुलुक संघीयतामा जानुअघि कृषिउपजको तथ्यांक साबिक जिल्ला कृषि विकास कार्यालयले राख्थ्यो । अहिले स्थानीय तहको कृषि शाखाले जिम्मा पाए पनि यससम्बन्धी अभिलेख राखेको पाइएको छैन ।

मुस्ताङको अन्न भण्डारका रूपमा चिनिएको थासाङको कुञ्जो आलु उत्पादनमा प्रसिद्ध छ । तर, त्यहाँ पुग्न कालीगण्डकी नदीमा पुल नहुँदा उत्पादनको बजारीकणमा समस्या हुँदै आएको छ । ढुवानी कम लाग्ने स्थानमा मात्र व्यापारीको आँखा लाग्ने भएकाले सडक जोडिएको गाउँमा मात्र पुग्ने गरेको पाइएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुन्दरकुमार थकालीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.