चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु
चितवन, २७ भदौ : शनिबार चितवनमा दुई सैनिकको मृत्यु भएको छ । चितवनको शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको हो ।
गणको कम्पाउण्डमा रहेको रूखको हाँगा काट्ने क्रममा कालिका नगरपालिका-८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको शनिबार मृत्यु भएको हो ।
कालिका नगरपालिका–८ शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही राजन कुमालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहान ११ बजेतिर रुखको हाँगा काट्दा विजुलीको नांगो तारले हाँगालाई छोएको थियो ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार सुवेदार राजुबाबु श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
त्यसैगरी सिपाही राजन कुमालको उपचारको क्रममा भरतपुरको सरकारी अस्पतालमा पौने १२ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
