थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि, ९१८ जना संक्रमण मुक्त
काठमाडौं, २४ भदौ : पछिल्लो २४ घण्टामा कोरोना भाइरसका एक हजार ८१ संक्रमित थपिएका छन् ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनले हालसम्म संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको पनि जानकारी दिए ।
यस्तै, काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ९१८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३३ हजार ८८२ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ९९ हजार ३४१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ७ हजार ९८८ जना र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४८० जना क्वारेन्टिनमा रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट ३१२ जनाको मृत्यु भएको छ ।
